सहकर्मी पाखे भन्नुहुन्छ : पौडेलले अहिलेसम्मको निष्कलङ्क छवि जोगाउनुपर्छ

Share Icon

२९ फागुन,गण्डकी । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गत बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित पौडेलले आज शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

नेपाली राजनीतिमा लामो समय सादगी र निष्कलङ्क नेताका रूपमा आफ्नो पहिचान बनाउनुभएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा उहाँका सहकर्मी तथा शुभेच्छुकहरू हर्षित त छन् नै, राष्ट्रपतिका रूपमा रहँदा उहाँको मौलिक सादगी जीवन र निष्कलङ्क छवि जोगाउने विषय आगामी दिनमा प्रमुख चुनौती रहेको भन्दै उनीहरुले चासो र चिन्ता लिएका छन् ।

विभिन्न दलको समर्थनमा राष्ट्रपति पदमा निर्वाचित हुनुभएका पौडेलले कुनै पनि दबाब र प्रभावमा नपरी पदको गरिमा र महत्वलाई अझै बढाउने गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँका साथीहरुले जोड दिएका छन् ।

पोखराका शिक्षासेवी तारा पाखे उहाँका शुभेच्छुकसँगै गण्डकी छात्र समितिका सहकर्मी हुनुहुन्छ । राष्ट्रपति पौडेलभन्दा एक वर्ष पाका पाखे विसं २०२३ मा काठमाडौँमा रामचन्द्र पौडेलको अध्यक्षतामा गठित गण्डकी छात्र समितिको सांस्कृतिक सचिव बन्नुभएको थियो ।

विद्यार्थीकालमा सहकार्य गर्नुभएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा आफू निकै हर्षित भएको बताउनुभयो । “सँगै एउटै समितिमा रहेर काम गरेको मेरो एकजना सहकर्मी देशको सर्वोच्च पदमा पुग्नु मेरा लागि खुसीको विषय हो”, उहाँले भन्नुभयो, “मैले सङ्गत गर्दादेखि नै शालीन, सादगी एवम् निष्कलङ्क छवि बनाउनुभएका पौडेलले आगामी दिनमा उहाँको यो मौलिकपनलाई कायम गर्न सक्नुपर्छ ।”

कसरी बन्यो त गण्डकी छात्र समिति ?

पाखेका अनुसार तत्कालीन समयमा कम्युनिष्ट भनेर चिनिनुहुने डा वासुदेव त्रिपाठीलगायत विद्यार्थीले ‘गण्डकी ज्योति मण्डल’ संस्था गठन गर्नुभएको थियो ।

उक्त संस्थाले आयोजना गरेको वादविवाद प्रतियोगितामा भाग लिँदा आफू पुरस्कृत भएको अनुभव सुनाउँदै उहाँले केही समयपश्चात् उक्त संस्थाको विरोधीका रूपमा ‘गण्डकी छात्र समिति’ स्थापना भएको बताउनुभयो ।

“गण्डकी ज्योति मण्डलमा दोस्रो पटकको कार्यक्रममा डा शेषकान्त अर्याल र पूर्वमाननीय इन्दु शर्माले प्रतिवाद गर्नुभयो । उहाँहरू कार्यक्रममा पहिलो पटक आउनुभएको थियो । कार्यक्रममा विरोध गर्ने तयारीका साथ उहाँहरु उपस्थित हुनुभएको थियो”, पाखेको ‘प्रजातन्त्रका बलिवेदी’ पुस्तकमा उल्लेख छ ।

पुस्तकमा भनिएको छ, “विद्यार्थी नेता रामचन्द्रजी पनि अब चर्चामा हुनुहुन्थ्यो । साथीहरूसहित गोलबन्द भएर ज्योति मण्डलको विरोधमा राजेश्वर देवकोटालाई समेत हकार्न पुगेको रमाइलो घटना सम्झँदा अहिले पनि आनन्द लाग्दछ ।

अब रामचन्द्रजीको सक्रियतामा हामीले गण्डकी छात्र समिति गठन गर्ने भयौँ । रामचन्द्रजी त सभापति हुनुहुने भयो । त्यसमा कसैको कतै विरोध थिएन सुनिएन ।”

आफूभन्दा उमेर तथा पढाइमा ज्येष्ठता भएका लक्ष्मी भट्टराईलाई समितिको सचिव बनाइएको उल्लेख गर्दै पाखेले सो समयमा रामचन्द्र पौडेलले ‘तिमीलाई सचिवबाहेक अरू रोजेको पदमा राख्छु’ भन्नुभएको स्मरण गर्नुभयो ।

त्यस समयमा आफूलाई संस्कृत कलेजमा पनि सचिव नदिई सहायक सचिव मात्रै दिएको र यहाँ पनि नदिने ? भनेर कराए पनि उहाँले नमान्नुभएको उल्लेख गर्दै पाखेले त्यसो भए सांस्कृतिक सचिव हुन्छु भनेको पुस्तकमा उल्लेख छ ।

विद्यार्थीकालदेखि नै सङ्गत गर्दा पौडेल सरल, शिष्ट स्वभावको पाएको पाखेको अनुभव छ । सरल र शिष्ट स्वभावका पौडेल त्यस समयमा पनि आँटिलो तथा जोसिलो रहेको भन्दै पाखेले सुनाउनुभयोे, “एक दिन काठमाडौँमा केशव रेग्मी, म र रामचन्द्रजी एउटै कोठामा थियौँ ।

गफगाफका क्रममा रामचन्द्रजीले ‘ए तारा जी तपाइँ यो कलेजमा मात्रै हो, म त नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घमा गएर भाषण गर्ने हो”, भन्नुभयो ।

हामी दुवैजना हाँस्यौँ ।” त्यसबेला गाउँबाट आएको व्यक्तिको यत्रो आँट जस्तो लागे पनि पौडेल निरन्तरको साधनाबाट देशको सर्वोच्च पदमा पुग्न सफल बनेको पाखेको बुझाइ छ ।

राजनीतिमा विभिन्न आरोहअवरोह आए पनि त्यसको प्रवाह नगरी निरन्तर क्रियाशील पौडेल राष्ट्रपति बन्नुभएको भन्दै पाखेले उहाँको धैर्यता र निरन्तरको क्रियाशीलता प्रत्येक राजनीतिकर्मीका लागि प्रेरक भएको बताउनुभयो ।

आमा ऋषिमाया र बुबा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साबिक मिर्लुङ बाहुनपोखरामा जन्मनुभएका पौडेल गण्डकी प्रदेशबाटै देशको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गर्दै राजनीतिक यात्रामा जोडिनुभएका पौडेल देशका विभिन्न आन्दोलनका जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.