Share Icon

२९ फागुन,कञ्चनपुर । मजदुरी गरेर जीविका चलाउँदै आउनुभएकी शुक्लाफाँटा नगरपालिका– १० झलारी खल्ला बस्तीकी ३२ वर्षीया पुनम नेपाली उपचार खर्च जुटाउन नसक्दा घरमै थला पर्नुभएको छ ।

बायाँ खुट्टामा भएको घाउको समयमै उपचार गराउन नसक्दा नेपालीलाई क्यान्सर भएको छ । आर्थिक अभावमा उहाँले उपचार गराउन पाउनुभएको छैन । पीडा सहदै नेपाली घरमै बस्दै आउनुभएको छ ।

दुई छोरा एक छोरीकी आमा पुनमलाई श्रीमान्ले छाडेर गएपछि उपचार गराउने व्यक्ति घरमा छैनन् । “मजदुरी गरी जीविका चलाउन सक्दैन”, उहाँले भन्नुभयो, “बालबालिका भोकभोकै बस्न बाध्य छन्, उपचार नपाउँदा पीडामा बाँच्न बाध्य छु ।”

उहाँका अनुसार केही दिनका लागि पुग्ने गरी नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले आफ्नै लगानीमा चामल, दाल, नुन, तेल उपलब्ध गराउनुभएको थियो ।

उपलव्ध गराएको राहत सामग्री सकिएको छ । उहाँले भन्नुभयो, “बालबालिका भोकभाकै बस्न बाध्य भएका छन् ।”शुक्लाफाँटा नगरपालिका नगरस्तरीय एकल महिला समूहका अध्यक्ष शान्तिदेवी धामीको पहलमा नेपालीलाई महाकाली प्रादेशिक अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरिएको छ ।

“सडकमा हिँड्दै रुँदै गरेका बेला फेला पारी नेपालीलाई अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरेका छौँ”, धामीले भन्नुभयो, “चिकित्सकले क्यान्सर भएको भनेर जवाफ दिनुभएको छ, घरमै दैनिक डे«सिङ गर्ने र पेन किलर दिने कार्य भइरहेको छ”, नेपालीसँग नागरिकता थिएन ।

“नागरिकता नहुँदा निःशुल्क उपचार गराउन सम्भव थिएन, कुनै पनि निकायबाट सहयोग माग्न अप्ठेरो थियो”, उहाँले भन्नुभयो, “मतदाता परिचयपत्रका आधारमा नेपालीको नागरिकता बनाएका छौँ”, नगरपालिका संग सहयोगको याचना गरिएको उहाँले बताउनुभयो ।

राज्यको सेवा सुविधा नेपालीले पाउन भनेर नागरिकता बनाउन सहयोग गरेको उहाँको भनाइ रहेको छ । वडाध्यक्ष ऐरले नेपालीलाई सहयोग रकम उपलब्ध गराउनका लागि कार्यपालिका बैठकमा प्रस्ताव पेश गरिएकाले रु पाँच हजार जतिको सहयोग हुने बताउनुभयो ।

उपचार खर्च रकम जुटाउन नसक्दा पुनमको अबस्था अत्यन्तै कष्टकर बन्दै गएको छ । देशमा तीन तहको सरकार भए पनि उपचार नपाएरै पुनमको ज्यान जाने खतरा रहेको समूहका अध्यक्ष धामीले बताउनुभयो ।

“पुनमको उपचारका लागि सहयोग रकम उपलब्ध गराउनका लागि दातृ निकायसँग याचना गर्दछौँ”, उहाँले भन्नुभयो, नेपालीको उपचारसँगै बालबालिकालाई निःशुल्करुपमा पढ्ने र खाने व्यवस्था तत्काल गरिनुपर्दछ ।”

भारतमा श्रीमान्सँगै मजदुर गर्न गएका बेला नेपालीको खुट्टामा घाउ भएको थियो । घाउ बल्झिँदै गएर क्यान्सर भएपछि नेपालीका श्रीमान् सम्पर्कविहीन भएका छन ।

Facebook Comments Box

Share Icon