बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

Share Icon

२८ फागुन,कञ्चनपुर । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ ।

खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो ।

बालविकास तहको पाठयक्रमका विषयवस्तुबारे जानकारीसँगै घरमा प्रयोग भइसकेका पुराना कपडा, चेप्टा ढुङ्गा, बाँसका छेस्का, काँटी, गेडागुडी, बालविकास केन्द्रमा प्रयोग भइसकेका विभिन्न किसिमका चार्टहरूको प्रयोग गरी खेलौना र शैक्षिक सामग्री बनाउन सिकाउनका लागि सहजकर्ताका लागि प्रशिक्षकको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

“बालविकास केन्द्र सञ्चालनको जिम्मा नगरपालिकाको रहेको छ”, उहाँले भन्नुभयो, “परम्परागत तरिकाले सञ्चालन हुँदै आएका बालविकास केन्द्रको आमूल परिवर्तन गरी आधुनिक तरिकाले बालबालिकालाई पढाइका सीप सिकाउनका लागि सहजकर्तालाई तयार गर्दैछौँ ।”

उहाँका अनुसार निजी क्षेत्रबाट मन्टेश्वरी विद्यालय सञ्चालन हुन थालेपछि बालबाविकास केन्द्रमा अभिभावकले बालबालिका पठाउन छाडेका छन् ।

निजी विद्यालयप्रतिको अभिभावकको आकर्षण बढ्दो छ । “निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि दक्ष जनशक्ति तयार गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “युग सुहाउँदो बालशिक्षाका लागि चुनौती उत्तिकै ठूलो छ, अभिभावको विश्वास जित्नका लागि बालविकास केन्द्रको सुधार गर्नु छ, त्यसका लागि जनशक्ति तयार गर्दैछौँ ।”

बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको क्षमता अभिवृद्धि गर्न बुक आर्ट नेपालका शान्ता दाहाललाई प्रशिक्षकका रूपमा नियुक्त गरी तालिम दिने कार्य भइरहेको उहाँले बताउनुभयो ।

सहजकर्तालाई तालिमसँगै बालविकास केन्द्रको भौतिक पूर्वाधार विकास, कार्पेट, कुसन, शैक्षिक सामग्री, खेलौना, बाल खेलकुदका सामग्री, सन्दर्भ सामग्रीको व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो ।

बालबालिकाको क्षमता पहिचान गरी खेलको माध्यमबाट सिकाउने कार्यलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर योजनाबद्धरूपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

“यसका लागि कार्ययोजना बनाई लागू गर्छौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख रणबहादुर महराले बालविकास केन्द्र पुरानै तौरतरिकाले अब चल्न नसक्ने बताउनुभयो ।

“नमूना बालविकास केन्द्र कसरी बनाउन सकिन्छ, यसका लागि कार्य अगाडि बढाउँदैछौँ”, महराले भन्नुभयो, “निजी क्षेत्रबाट सञ्चालित मन्टेश्वरी विद्यालयसँग बालविकास केन्द्रले प्रतिस्पर्धा गर्ने गरी नयाँ ढङ¬्गले सञ्चालनमा जोड दिन थालेका छौँ ।”

नगर उपप्रमुख कल्पना जोशी पन्तले बालविकास केन्द्रमा बालबालिकाको आकर्षण कसरी बढाउन सकिन्छ, यसका लागि सहजकर्ताहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।

बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको आनीबानीमा सुधारसँगै अनुशासन र पढाइ सीपको विकास गर्नका लागि सहजकर्ताको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

पहिलो चरणमा नगरपालिकामा सञ्चालित ६५ बालविकास केन्द्रमध्ये ३४ बालबाविकास केन्द्रका सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तथा पुनर्ताजगी तालिम दिइरहेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखका नायब प्राविधिक सहायक दीपेन्द्र जोशीले बताउनुभयो ।

नगरपालिका क्षेत्रमा सञ्चालित ६५ वटा बालविकास केन्द्रमा दुई हजार पाँच सय १८ बालबालिका भर्ना भई पढ्दै आएका छन् ।

नगरपालिकाले बढी बालबालिका भएका बालविकास केन्द्रमा थप सहजकर्ताको व्यवस्था गर्ने र बालबालिका कम भएका बालविकास केन्द्रमा बालबालिकाको सङ्ख्या बढाउनका लागि अभिभावकसँग अन्तक्र्रिया र छलफललगायतका कार्य गर्ने भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.