डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

Share Icon

२६ फागुन,चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।

चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ ।

उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित परिचालन गरिने सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

डढेलो लाग्न नदिन निकुञ्जले वन क्षेत्र नजिक बसोबास गर्ने समुदायलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको र नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्रभित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थितरुपमा डढेलो लगाउने गरेको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

उहाँका अनुसार घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थितरूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहनसमेत निकुञ्जले आह्वान गरेको छ ।

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ ।

डिभिजन वनअन्तर्गतका आठवटै सवडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उहाँले बताउनुभयो । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्तासमेत नियुक्त गरेको छ ।

हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने सूचना अधिकारी खनालको भनाइ थियो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरिरहेको छ ।

वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक््रयाइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् ।

सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उहाँले बताउनुभयो । विगतमा बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.