धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

Share Icon

२५ फागुन,राँझा । बाँकेको खजुरामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न श्रीमदभागवत ज्ञान महायज्ञ तथा सङ्गीतमय कथा प्रवचन थालिएको छ ।

खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा यही फागुन ३० गतेसम्म महायज्ञ सञ्चालन हुने महायज्ञ आयोजक मूलसमिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्नेछ । महायज्ञबाट सङ्कलन भएको रकमबाट लक्ष्मीनारायण मन्दिर परिसरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायणको मूर्ति स्थापना गरिनेछ ।

यसले खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने छ । “करिब रु चार करोडको लागतमा पाँच वर्षभित्र संरचना निर्माण गर्ने योजना रहेको छ”, संयोजक श्रेष्ठले भन्नुभयो,“लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चढ्न संरचनाभित्र सिँढी र लिफ्ट निर्माण गरिने छ ।”

महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा बसेर सङ्कल्प गरेका हरेक काम सफल भएको बताउँदै खजुरामा मानिसको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्र भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले आध्यात्मलाई सामाजिक रुपान्तरण गर्ने गरी गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताउँदै खजुरालाई धार्मिक पर्यटकीयस्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

खजुरा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि हुने कार्यक्रममा गाउँपालिकाको सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो,“लक्ष्मीनारायण मन्दिरको प्राङ्गणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाइ आयोजना एवम् ज्ञानोदय नमुना मावि विद्यालयको परिकल्पना गरिएकोले लक्ष्मीनारायाण मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको छ ।”

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.