अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

Share Icon

१९ फागुन,कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् ।

समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ ।

शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताउनुभयो ।

बाख्रापालनका लागि रु चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका छन् । समूहमा आबद्ध सदस्यमध्ये बाख्रा खरिदका लागि तीन सदस्यीय समिति गठन गरेका छन् ।

खरिद गरिएका बाख्रा दुई वटाका दरले १५ सदस्यलाई उपलब्ध गराइएको छ । समूहमा आबद्ध सदस्य कृष्ण थापाले बाख्रापालन गरी आत्मनिर्भर बन्नका लागि सघाउ पुगेको बताउनुभयो ।

अपाङ्गता भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै समूहका अर्का सदस्य जानकी चौधरीले आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि बाख्रापालनमा लागेको बताउनुभयो ।

समूहका अध्यक्ष हरिदत्त भट्टले स्थानिय तहले पनि विज्ञ केन्द्रको जस्तै अपाङ्गता भएका व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

केन्द्रले शुक्लाफाँटामा जस्तै बेदकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी स्थानीय जातका कुखुरापालनका लागि रु चार लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ ।

कुखुरापालनका लागि समूहमा आबद्ध सदस्यले खोर निर्माण गरेका छन् । अनुदान रकमबाट दश सदस्यले कुखुरापालन गर्ने समूहका कोषाध्यक्ष प्रेम बोहराले बताउनुभयो ।

केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाका अनुसार गत वर्ष भीमदत्त नगरपालिकामा रहेको स्वावलम्बी अपाङ्गता कृषक समूहलाई स्थानीय जातका कुखुरापालनका लागि रु १० लाख अनुदान उपलब्ध गराइएको थियो ।

“अपाङ्गता भएका व्यक्ति र आश्रित परिवारको आयस्तरमा बृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, कार्यालय प्रमुख ठगुन्नाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति व्यावसायिक भएर आर्थिकरुपमा सवल बने समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउने अपेक्षा गरेका छौँ ।”

समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिले गरेको व्यवसायलाई प्रवद्र्धन गर्नका लागि आवश्यक तालिम र प्राविधिक सल्लाह सुझाव दिने गरेको उहाँको भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.