जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो
एजेन्सी । जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ ।
जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् ।
अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्षात्कारमा विदेशमन्त्री बाएरबकले राष्ट्रपति सीलाई तानाशाह भनेपछि चीनले जर्मन राजदूतसँग स्पष्टीकरण सोधेको छ ।
अमेरिकाको टेक्सस राज्यमा फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनले युक्रेनमा जारी आक्रमणमा रुसी भूमिकाको निन्दासमेत गरेकी थिइन् । उक्त अन्तरवार्तामा उनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धमा विजयी हासिल गरेको खण्डमा चिनियाँ राष्ट्रपति सीजस्ता तानाशाहलाई कस्तो सन्देश जाला ?’ भन्ने प्रश्न गरेकी थिइन् ।
त्यसैले स्वतन्त्रता, लोकतन्त्रको जितका लागि यस युद्ध युक्रेनले जित्नुपर्ने उनको तर्क थियो । चिनियाँ विदेश मन्त्रालयले जर्मन विदेशमन्त्रीको हास्यास्पद भनाइले चिनियाँ राजनीतिक अस्मितामा हस्तक्षेप गरेको टिप्पणी गरेको छ ।