मरेनी र बुल आलु पकेट क्षेत्र

Share Icon

१६ फागुन,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ ।

व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो ।

शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत दुई ठाउँका ५८ घरधुरी कृषकले एक सय १४ रोपनी बारीमा आलुखेती गरेका जानकारी दिनुभयो ।

“कृषकलाई ज्ञान, सीप र प्रविधिमा सहयोग गरी व्यावसायिक आलुखेती विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो”, उहाँले भन्नुभयो, “कृषकलाई उपकरण, बीउ, विषादी र बजारीकरणमा ५० प्रतिशत अनुदानको सुविधा छ ।”

गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा नं २ को लनगशील बहुउद्देश्यीय समूह र वडा नं ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपक्षी कृषक समूहलाई छनोट गरिएको हो ।

दुईवटै समूहलाई चालु आर्थिक वर्षमा रु छ–छ लाखका दरले अनुदान दिइने शाखा प्रमुख खत्रीले बताउनुभयो । आठवटा मिनिटेलर हलो माग गरेका समूहले १२ हजार किलोग्राम बीउ आलु रोपेका छन् ।

यसैगरी विषादी, स्प्रे र बजार पठाउने क्रममा आलु भण्डारण गर्न थैला उपलब्ध गराइने भएको छ । कार्यक्रममार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा झाडी फडानी गरेर सामूहिक आलुखेती विस्तार गरेका छन् ।

बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलुखेती गरेका छन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकामा खनजोत सकेर आलु लगाइएको लगनशील कृषक समूहका अध्यक्ष गौसरा विकले बताउनुभयो ।

समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप एक सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ । “बाँझो जग्गामा आलुखेती गरिएपछि वर्षाँैदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ”, गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले भन्नुभयो, “यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलुखेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.