सानो उमेरमा आमा बन्ने क्रम रोकिएन
११ फागुन,चितवन । सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।
यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । उहाँले भन्नुभयो,“यसै वर्षबाट यो तथ्याङ्क राखिएको हो । गत वर्षको तुलना गर्न सकिँदैन ।
” चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका ६ हजार तीन सय ८९ जनाले शिशु जन्माएको उहाँले बताउनुभयो । उनीहरुमध्ये दुई हजार एक सय ८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, चार हजार सात सय ४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उहाँका अनुसार जिल्लामा यसवर्षको हालसम्म एक सय ३९ शिशु मृतावस्थामा जन्मिएका थिए । यस्तै दुई सय ३३ आमाले दुई शिशु जन्माएका छन् ।
अघिल्लो आर्थिक वर्षमा दुई हजार सात सय पाँच जनाले २० वर्ष भन्दा कम उमेरमा पहिलो गर्भ जाँच गराएका थिए । तीमध्ये १६, २०, २४,३२ र ३६ हप्तामा एक हजार ४६ जनाले गर्भ परीक्षण गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
सोही समयमा २० वर्ष भन्दा माथिका १८ हजार तीन सय ३९ जनाले पहिलो पटक गर्भ परीक्षण गराएका थिए । भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार कम उमेरमा नवजात जन्माउँदा आमा र शिशु दुबैको ज्यानको खतरा हुने गर्दछ ।
कम उमेरमा शिशु जन्माउँदा आमा शारीरिक तथा मानसिक रुपमासमेत तयार भइसकेको नहुँने भएकाले शिशुका स्वास्थ्यमा समस्या आउने सक्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सानो उमेरमा विवाह गरेर शिशु जन्माउने गर्दा पाठेघरमा समस्या आउने गरेको छ । बढी सङ्ख्यामा ग्रामीण क्षेत्र र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँको भनाइ छ ।
चेतनाको अभावका कारण यो समस्या देखिएको जनाउँदै उहाँले भन्नुभयो,“परीक्षणमा आउनेलाई गाउँमा सानै उमेरमा विवाह गर्न नहुने सम्बन्धी चेतनासमेत दिने गरेका छौँ ।
”सानो उमेरमा शिशु जन्माउँदा आमामा उच्च रक्तचापका कारण बेहोस हुने, शिशु कम तौलको जन्मने, आमामा सङ्क्रमण हुने जस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।