अभियुक्त ढकाललाई आममाफी दिने निर्णय विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै
२५, असाेज, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाई हुँदैछ ।
रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई हुन लागेको हो ।
एक साताअघि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाई गरेको थियो । कानून व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठाएका थिए ।
सुनुवाईमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।
रिगलसहितको समूहले २०७२ असारमा नेपालगन्जको धम्बोझी चोकनजिक चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।