Share Icon

११ फागुन,काठमाडौँ । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन । सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिनुभयो ।

जनशक्तिको अभावमा सेवा प्रवाहमा पनि समस्या भएको छ । देश सङ्घीय संरचनामा गएपछि विसं २०७६ मा सङ्गठनात्मक सर्वेक्षण हुने विश्वास गरिए पनि पुरानै ‘कपि पेस्ट’ का भरमा चल्नुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गठनात्मक सर्वेक्षण नभएका कारण पञ्चकर्म अध्ययन गरेर आउने जनशक्ति भए पनि स्वास्थ्य सेवा नियमावलीमा व्यवस्था नहुँदा वैधानिक रुपमा राख्न सकिएको छैन ।

” अस्पतालको बहिरङ्ग विभागमा दैनिक तीन सय बिरामी आउने गरेका छन् । यहाँबाट २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने गरिएको छ । अस्पताल ‘फार्मेसी’ निर्देशिका अनुसार अस्पतालमा ‘फार्मेसी’ पनि सञ्चालन गरिएको छ ।

यहाँ आठ सय भन्दा धेरै थरिका औषधिको बिक्री हुने गरेको छ । ‘फार्मेसी’मा बजारमाभन्दा निजी औषधि पसलमाभन्दा सस्तोमा औषधि बिक्री हुने गरेको जनाइएको छ ।

अस्पतालमा ‘सिटस्क्यान’ यन्त्र ल्याउन पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छ । यन्त्रको सहयोगमा सेवाग्राहीलाई थप सुविधा दिइने अस्पतालले जनाएको छ ।

Facebook Comments Box

Share Icon