बागलुङ सङ्ग्रहालय अधुरै

Share Icon

७ फागुन,बलेवा । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित बागलुङ सङ्ग्रहालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । बाह्र वर्षदेखि निर्माणाधीन सङ्ग्रहालयका संरचना जीर्ण भएका हुन् ।

रामरेखा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको उक्त भवनले पूरा आकार लिन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा सङ्ग्रहालय बनाउने काम अधुरै छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति सङ्ग्रहालय बनाउन पहल भएको हो ।

नेपाल आदिवासी जनजाती समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ । एक तला ढलान भएको भवनमा तत्कालीन जिविसले रु २५ लाख लगानी गरेको थियो । भवनको स्वामित्व र स्रोतको विवादले निर्माण रोकिएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष गणेश थापाले बताउनुभयो ।

“मन्त्रिपरिषद्ले नियुक्ती गरेर पठाएको उपाध्यक्ष, राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुखसहितको सर्वदलीय बैठकले आदिवासी जनजाति सङ्ग्रहालय बनाउने निर्णय गरेको हो,” उहाँले भन्नुभयोे,– “पछि नाममा विवाद भयो, हामीले आदिवासी जनजातीबाट निर्मित बागलुङ सङ्ग्रहालय भनेर राखिनुपर्ने माग राखेको थियौँ । नाममा विवाद र स्रोत जुटाउने कुरामा कोहीले जिम्मेवारी नलिँदा काम अद्धि बढेन ।”

स्वामित्व लिने कुरामा सबै अग्रसर बनेपनि स्रोत जुटाउन भने कोही अघि बढेको छैन । “सङ्ग्रहालय राज्यको सम्पत्ति हो, सबैले सहयोग गर्नुपर्छ”, थापाले भन्नुभयो “छुट्टै संस्था दर्ता गरेर नियमावली बनाएर भए पनि बनाउनुपर्छ ।” तत्कालीन जिल्ला विकास समिति, नेपाल आदिवासी जनजाती समन्वय समिति र रामरेखा सामुदायिक वनको त्रिपक्षीय लगानीमा भवन बन्न लागेको थियो । तत्कालीन जिविसको ३४, वन उपभोक्ता समितिको ३३ र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा सङ्ग्रहालय निर्माण थालिएको थियोे ।

तत्कालीन जिविसको अधिकार क्षेत्र कटौती भएपछि भवनका लागि बजेट आउने बाटो पनि बन्द भएको बताइन्छ । करिब १२ आना जमीनमा रहेको निर्माणाधीन भवन झाडीले घेरिएको छ । सङ्ग्राहलयमा बागलुङको पहिचान झल्कने विभिन्न जाति, जनजातिको संस्कृतिलाई राखिने बताइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.