कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

Share Icon

७ फागुन,रामपुर (पाल्पा) । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्नुहँुदै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । “हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।” उहाँले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताउनुभयो ।

पाल्पाका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई पछ्याउन पनि उहाँले सुझाव दिनुभयो । सम्मेलनको दोस्रो सत्रमा विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत तथा छलफल र बहस भएका छन् ।

प्रा डा माधवप्रसाद पोखरेलले संयोजन गर्नुभएको कार्यपत्र प्रस्तुति सत्रमा प्रा डा सावित्री मल्ल कक्षपतिले नेवार समुदायले मनाउने गथामुःग, झपेन्द्र जिसीले कडुवा गीत नृत्य : जीवन्त पाल्पाली संस्कृति एक झलक, कृष्णप्रसाद कोइरालाले रूरू क्षेत्र– एक प्रमुख धाार्मिक, पर्यटकीयस्थल, मन गैरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण, रोहित ज्ञवालीले पाल्पाका ब्राह्मणको कुलायन पूजा परम्पराः यसको सांस्कृतिक तथा सामाजिक महत्वका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

यस्तै मदन देउरालीले पाल्पामा भएका मन्दिर र मनाइने जात्रा, प्रा डा भवेश्वर पङ्गेनीले पाल्पा र यसको गौरव (पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व), विष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती-भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था र रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा डा ध्रुवप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने काम गरिएको छ । कला संस्कृतिसहितको संरक्षण गर्दै मूर्तअमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको लोकवार्ता परिषद नेपालका अध्यक्ष प्राध्यापक डा प्रेमकुमार खत्रीले बताउनुभयो ।

“राम्रा कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिनका लागि चरणबद्ध रुपमा जिल्ला जिल्लामा स्थलगत रुपमा अवलोकन गरी लोकवार्ता सम्मेलन गरिरहेका छौँ, हाम्रा परम्परागत लोक संस्कृतिलाई बचाउन र त्यसलाई अभिलेखीकरण गर्नका लागि सम्मेलन आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

सम्मेलन पाल्पाको रानीमहल, अर्गली, रिडी हुँदै गुल्मीको रिडी, तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा पुगेर फागुन ११ गते सम्पन्न हुने परिषद्का अध्यक्ष प्रा डा खत्रीले जानकारी दिनुभयो । तानसेनमा भएको सम्मेलनलाई सफल बनाउन तानसेन नगरपालिकाका साथै बगनासकाली, रैनादेवीछहरा र रिब्दिकोट गाउँपालिका तथा पाल्पा बाँसटारी ढाकाटोपी उद्योग, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, पौडेल ढाका उद्योग पाल्पाको सहयोग गरेका छन् ।

नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको छ । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका छात्राहरुले मगर जातिको मौलिक पहिरनमा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोक संस्कृति, लोक साहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । यस संस्थाले नेपालका करिब २२ जिल्लामा सम्मेलन आयोजना गरेको बताइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.