Share Icon

१ फागुन,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत राजमार्ग छेउका वनमा पोखरी निर्माणका लागि बजेट उपलब्ध गराइएको हो । सडक विस्तारका क्रममा रूख कटान गरिएका सामुदायिक वनलाई क्षतिपूर्तिस्वरुप जैविक विविधता संरक्षण गर्न बजेट प्रदान गरिएको हो । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार राजमार्गसँग जोडिएका २७ सामुदायिक वनलाई जैविक विविधता संरक्षण गर्ने योजना पेश गर्न भनिएको थियो ।

आयोजनले सुरुमै रूख कटान गर्दा कुन–कुन क्षेत्रमा असर गर्छ भन्ने अध्ययन गरेको थियो । उहाँले भन्नुभयो, “अध्ययनले वन्यजन्तु र वातावरणमा असर पर्ने देखायो । यसलाई मध्यनजर गरी जैविक विविधता संरक्षणअन्तर्गत वातावरणमैत्री, वन्यजन्तुमैत्री कार्य गर्न सामुदायिक वनसँग योजना माग्यौँ, धेरैले संरक्षण पोखरी निर्माणको योजना पेश गर्नुभयो । सोही कार्य अहिले भएको हो ।”

राजमार्गमा पर्ने २७ सामुदायिक वनमध्ये २६सामुदायिक वनले संरक्षण पोखरी निर्माण र एउटा सामुदायिक वनले मेसवालसहितको तारजाली लगाउने योजना पेश गरेका थिए । सोहीअनुसार प्रत्येक सामुदायिक वनलाई रु तीन लाख प्रदान गरिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । सात सामुदायिक वनले पोखरी निर्माण सम्पन्न गरिसकेका छन् ।

मेसवालसहितको तारजाली लगाउने कार्य पनि सकिएको छ । बाँकी रहेका १९ वटा सामुदायिक वनमा संरक्षण पोखरी निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो । बाँकी रहेका सबैले दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उहाँको भनाइ छ । “पोखरी निर्माण गर्ने योजनाअनुसार केही निर्माण सम्पन्न भएका छन्, कतिपय वनमा पोखरी निर्माणको अवस्थामा रहेका छन्”, उहाँले भन्नुभयो ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका क्रममा वन क्षेत्रमा वन्यजन्तु वारपारका लागि जैविक मार्गसमेत निर्माण हुने आयोजनाले जनाएको छ । पानी निकासका लागि बनाइएका कल्भट तथा पुललाई वन्यजन्तु वारपार गर्न सक्ने गरी निर्माण गरिने आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका क्रममा करिब ३६ हजार रुख कटान गरिएको छ ।

 

Facebook Comments Box

Share Icon