जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

Share Icon

८ माघ,महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्र भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने आयोजक महासेठले बताउनुभयो । औद्योगिक अवसरको सम्भावित अध्ययन तथा क्षेत्रीयस्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले आज जनकपुरधाममा पत्रकार सम्मेलनमा बताउनुभयो ।

महासेठले पत्रकार सम्मेलनमा यस बृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । उक्त मेलामा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको सङ्घका महासचिव मनोजकुमार साहले बताउनुभयो ।

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा सहआयोजक सिया इभेन्टस रहेको छ । व्यापार मेलामा पाइने विशेष सामानमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रक्सन बैंक, होम सप्लायर्स, हेल्थ एन्ड फिटनेस, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय एवं नवीनतम उत्पादन रहने सङ्घका वरिष्ठ उपाध्यक्ष मनिस साहले बताउनुभयो ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.