प्रधानमन्त्री प्रचण्ड र मन्त्री अब्दुल खानबीच भेटवार्ता, उद्याेग मन्त्रालय पाउने सम्भावना बढ्याे
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मन्त्री अब्दुल खानबीच भेटवार्ता भएकाे छ ।
भेटवार्तामा पूर्व सहमतिअनुसार भएकाे मन्त्रालय बाँडफाँडकाे विषयमा छलफल भएकाे हाे ।
वडाखबरसँग कुरा गर्दै मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसँग पूर्व सहमतिअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पर्ने विषयमा गहन छलफल भएकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई पूर्व सहमतिअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने विषयमा गहन छलफल भएकाे हाे, यसकाे निर्णय तीन बजे हुन्छ।’
उहाँले प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुनुभएकाे बताउनु भयाे ।
पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो। उद्योग र सहरी विकास मन्त्रालयमध्ये एउटा नदिए सरकारमा नबस्ने चेतवनी दिइसकेकाे छ ।
जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय दिने सहमति भएको र त्यस्तो नभए सहरी विकास मन्त्रालय चाहिने बताइसक्नु भएकाे छ।
मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार जानुभएन।