Share Icon

काठमाडाैं । भारत सरकारकाे सहयाेगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएकाे छ ।

ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको आज गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेपाली रूपैयाँ ३ कराेड ३९ लाख २० हजार आर्थिक सहयोगमा उक्त परियोजनाको निर्माण गरिनेछ ।

कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

ऐरावती गाउँपालिकास्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने बताइएकाे छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिने दूतावासले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिने दूतावासले जनाएकाे छ। यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण रहेकाे छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यी मध्ये प्यूठानका २ वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये प्यूठान जिल्लालाई प्रदान गरिएको १० वटा एम्बुलेन्ससहित लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।

Facebook Comments Box

Share Icon