सरकारका कामलाई जनतामा पुर्याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन् ।
सरकारका कामलाई जनतामा पुर्याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी उनले सही समाचार सम्प्रेषण गर्न राससलाई आग्रह समेत गरिन् ।
राससको ६३औं वार्षिकोत्सवमा समारोहमा उनले हालसालै अवधि भाषामा सेवा सुरू गरेर भाषाभाषीलाई प्राथमिकता दिएको भन्दै अब विश्व बजारमा पनि प्रतिस्पर्धी हुनुपर्ने औंल्याएकी हुन् ।
सरकारी स्वामित्व भएका मिडिया हिजोका जस्तो नभएको भन्दै उनले राससले जनताको आवाज बोल्नुपर्ने बताइन् । राससले गत वर्ष एक लाख बढी समाचार सामाग्री दिएको तारिफ गर्दै अब संख्यात्मकमात्र नभई गुणात्मक विकासमा जोड दिइन् ।
२०१८ सालमा स्थापना भएको रासस न्यूरोडको निजी घरबाट सुरू भएर आफ्नै भवनमा भद्रकाली प्लाजामा रहेको छ । हाल सातै प्रदेशमा कार्यालय र ५३७ ग्राहक छन् ।