Share Icon

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी नराख्ने प्रस्ताव भएको छ । मंगलबारबाट जारी विधान अधिवेशनमा अधिकांश नेताहरुले पदाधिकारी नराख्न सुझाएका हुन् । छलफलको क्रममा पार्टीमा पदाधिकारी नराख्नेबारे कुरा उठेको सचिव दिनानाश शर्माले बताए ।

उनले भने–‘प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्नका लागि २० समूह गठन भएका छन् । अहिले सबै समूहगत छलफल भइरहेको छ दिउँसो २ बजेबाट सम्मेलन सुरु हुन्छ । हिजोको पदाधिकारी बैठकमा पदाधिकारी बैठक नराख्ने कि भन्ने सुझाव आएका छन् ।’

उनले मिश्रित सुझाव उठिरहेकाले अहिलेसम्म ठोस कुनै निर्णय नभएको बताए । उनले सुझावहरु आउनेक्रम जारी रहेकाले सबैको सुझावलाई समेटेर भोलिसम्म निर्णय हुने बताए । उनले भने–‘अध्यक्षपछि सानो संख्यामा स्थायी कमिटी राख्ने भन्ने पनि छ । अहिले नै संख्याबारे टुंगिएको छैन ।’

यही प्रस्ताव भोलिसम्म चल्ने विधान अधिवेशनको हलले अनुमोदन गरे आगामी महाविधेशनपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि सबै सदस्य रहनेछन् ।

माओवादीले यो अधिवेशनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । माओवादीभित्र तत्काल प्रचण्डको विकल्प खोज्ने स्थिति छैन । प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवलगायतका पदमा नेताहरु धेरै आकांक्षी भएपनि नेतृत्वको विकल्पमा कसैले आवाज उठाएका छैनन् ।

विधान अधिवेशनले पारित गरेपछि नयाँ विधान आगामी महाधिवेशनबाट लागू हुनेछ । पार्टी अध्यक्षदेखि तल्लो तहका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने व्यवस्था अधिवेशनबाट गर्ने तयारी भएको सचिव शर्माले बताए ।

उनले थपे–‘अध्यक्षसहित पार्टीको सबै कमिटीमा प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने भन्ने कुरा भएको छ । त्यसमा कति समानुपातिक र समावेशी बनाउने भन्नेबारे छलफल भइरहेको छ टुंगिएक छैन ।

Facebook Comments Box

Share Icon