लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

Share Icon

१५ मङ्सिर,जनकपुरधाम। मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ ।

लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उहाँलाई नगद रु ५० हजारसहित सम्मान गरिएको हो ।

यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । उहाँलाई नगद रु १० हजारसहित सम्मान गरिएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा कदरपत्र तथा नगदसहित पुस्कार प्रदान गर्नुभएको थियो ।

लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार सम्मान तथा सिफारिस समितिको सिफारिसमा परिषद्ले गत भदौ २० गते गरेको निर्णयानुसार जोशीलाई ५० हजार राशिको उक्त पुरस्कार विशेष सम्मानसहित आज प्रदान गरिएको हो ।

भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि विसं २०७७ मा स्थापित परिषद्ले २०७९ मा राष्ट्रियतर्फको पुरस्कार अग्नि खण्डकाव्यका लागि डा नवराज लम्साल र स्थानीयतर्फ विनोद विकलाई प्रदान गरेको थियो । पुरस्कार समारोहमा वरिष्ठ साहित्यकार डा नवराज लम्साल, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुललगायतको सहभागिता रहेको थियो ।

पिता हरिभक्त जोशी र माता तुलसादेवीको कोखबाट पहिलो सन्तानका रुपमा विसं २०३१ मा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिनुभएका रामलाल जोशी हाल धनगढी उपमहानगरपालिका–५ कैलालीमा स्थायीरूपमा बसोबास गरिरहनुभएको छ ।

विसं २०५० देखि गजल र कविता लेखनमार्फत औपचारिकरूपमा साहित्यमा प्रवेश गरेको बताउनुहुने उहाँ त्यसयता निरन्तर साहित्य साधनामा हुनुहुन्छ । सुदूरपश्चिमलाई कर्मथलो बनाई साहित्य लेखन र साहित्यिक–सांस्कृतिक अभियानको समेत नेतृत्व गर्नुहुने जोशीका प्रायः कथामा सुदूरपश्चिम प्रदेशको परिवेश झल्काउने गरी लेखिएका छन् ।

उहाँद्वारा लिखित ‘ऐना’ कथासङ्ग्रहले विसं २०७२ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उहाँका विसं २०७५ मा प्रकाशित थारू जनजीवनमा आधारित ‘सखी’ उपन्यास र विसं २०७९ मा प्रकाशित बाआमा नामक आख्यान बहुचर्चित छन् । त्यसअघि विभिन्न फुटकर कथा, कविता र गजलका साथै ‘हत्केलामा आकाश’ (२०५७) गजल सङ्ग्रह प्रकाशित गर्नुभएका जोशी विसं २०६० सम्म पत्रकारितासमेत हुनुहुन्थ्यो । जोशीले हाम्रो परामर्श साप्ताहिक, सौगात, कोपिला, युगपुकार, मालिका र सुरभिजस्ता साहित्यिक पत्रपत्रिकाको सम्पादन गर्नुभएको छ ।

नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका उहाँले करिब १३ वर्षसम्म विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षणसमेत गर्नुभएको थियो । त्यसैगरी विसं २०२६ मा बुवा मरिणाम पौडेल र आमा भक्तमञ्जरी पौडेलको कोखबाट रामेछापमा जन्मनुभएका देवराज पौडेल हाल लालबन्दी–४ सर्लाहीमा बसेर साहित्य कर्म गरिरहनुभएको छ । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँले शिक्षणका साथसाथै साहित्य रचना र स्थानीय धार्मिक तथा पुरातात्विक खोज अनुसन्धानमा समेत संलग्न हुनुहुन्छ ।

पौडेलले मेडहरू (लघुकथा सङ्ग्रह २०७६), श्री लक्ष्मीनाथ चितायन महादेव (खोजमूलक कृति, २०७७), वासुदेवशरण कोइरालाका नौ दशक (जीवनवृत्तमा आधारित पुस्तक–२०८०) नामक कृति प्रकाशन गर्नुभएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.