Share Icon

उमेश दलामी
बाँके । मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्ति नगर गाउँपालिका -७ खैरेनी घर भई हाल राजपुर गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत तारा प्रसाद विक रहेको जिल्ला प्रहरी कार्यालय दाङक प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

राजपुर गाउँपालिका – ६ का कार्यालय सहयोगी अमृत रोका र विक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएराती राजपुर गाउँपालिका- ५ जंग्रहवा चोकमा अनियंत्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर विक गम्भीर घाइते हुनु भएको थियो ।

नाली निर्माणका लागि राखिएको बालुवामा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा विकको टाउकोमा गहिरो चोट लागेको थियो, दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। उहाँको उपचारकै क्रममा आज बिहान ४ बजे मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा सामान्य चोट लागेकोले लामहीकै एक स्थानीय मेडिकलमा उपचार भैरहेको छ । उपचारपछि रोकालाई ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाई आवश्यक अनुसन्धान गरिने भएको छ ।

यता मृतकका आफन्तले घटनाको वास्तविकता नबुझेर शव नबुझ्ने भनेपछि अहिले विकको शवलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका – ६ का वडाअध्यक्ष तथा प्रवक्ता श्याम रोकाले जानकारी दिनु भयो ।

Facebook Comments Box

Share Icon