युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु
१५ मंसिर, काठमाडौं । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।
विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो।
बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।
‘हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो,’ इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।
अमेरिका, कतार र इजिप्टको निरन्तरको मध्यस्थताका बावजुद पनि युद्धविराम लम्बिन सकेन । विश्व समुदायले युद्धविराम लम्बिने आशा गरेका थिए ।
सात दिनसम्म चलेको युद्धविराममा बिहीबारसम्म हमासले ११० जना बन्धकहरूलाई रिहा गरेको छ ।