टीकापुरको सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share Icon

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा जग्गा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचविखन गरेको खुलेको छ ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ ।

आयोगले अध्यक्ष जोशीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ बमोजिम विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना र सोही ऐनको दफा ११ अनुसार थप सँजायको मागदावी लिएको छ ।

आयोगले समितिका अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मी, समितिको बोर्ड बैठकले गठन गरेको उपसमितिका संयोजक गणेसिंह रावल लगायत ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्राप्त प्रमाणका आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि रेग्मीले बताए ।

नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.