नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
यस दिन नेप्से ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँ पुगेको छ।
यस दिन २८९ वटा धितोपत्रको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार रूरू जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७५० रूपैयाँ पुगेको छ।
बिहीबार तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।
सेयर मूल्य घट्नेमा विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी हाइड्रोपावर रहेको छ।
यी कम्पनीहरूको सेयर मूल्य क्रमशः ५९१ रूपैयाँ ३० पैसा, ५८९ रूपैयाँ ५० पैसा र ३०४ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बिहीबार नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४२३ रूपैयाँमा ११ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २९३ रूपैयाँमा ८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.११ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशतले घटेको छ।