सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ पौडेल नियुक्त
१३ मंसिर, काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले नियुक्त गर्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् ।
आजकै मन्त्रिपरिषद बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।
भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई खटाउने र राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय पनि बैठकले गरेको छ ।