Share Icon

काठमाडौं। पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो।

यो नियम अनुसार करिब आज मात्रै एक सय भन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन। तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ। तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनर्स्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो। पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ।

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो। यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon