दुई महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च, १ खर्ब ५४ अर्ब राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख रूपैयाँ बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ।
पुँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ। यो शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्टाइएकोमा भदौ मसान्तसम्ममा आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ। वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ। मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ।
पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट ३५ अर्ब ५१ करोड ३९ लाख रूपैयाँ खर्च भएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।