Share Icon

१ मंसिर, काठमाडौं । मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ ।

अस्पताल प्रशासनका अनुसार सप्लायर्सले ‘एक्स–रे फिल्म’ उपलब्ध नगराउँदा एक हप्तादेखि सिटीस्क्यान सेवा ठप्प भएको हो ।

सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ । तर, अस्पतालसँग ‘एक्स–रे फिल्म’ स्टकमा समेत छैन। सिटीस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी फर्कन बाध्य छन् ।

लगातार टाउको दुख्ने समस्याबाट ग्रसित भएकी सिन्धुपाल्चोककी रमिला थापा पनि सिटीस्क्यान सेवा नहुँदा फर्किन बाध्य भइन् । ‘चिकित्सकले सिटीस्क्यान गरेर हेरौं भन्नुभयो । तर, वीरमा एक हप्तादेखि नै सेवा रहेनछ’ उनले गुनासो गरिन्, ‘सरकारी अस्पतालमा मेसिन जहिल्यै पनि बिग्रिएको हुने रहेछ ।’

यस्तै, काठमाडौंको भद्रवासकी ७६ वर्षीया नन्दमाया सापकोटा सिटीस्क्यानका लागि अन्य अस्पताल खोजिरहेकी छिन् । वीर अस्पतालमा एक साता अगाडि भर्ना भएकी नन्दमायाको मस्तिष्कका नसा सुकेका कारण सिटीस्क्यान गरिहाल्न चिकित्सकले सुझाव दिएका छन् ।

‘चिकित्सकले सकेसम्म चाँडै गर्नु भन्नुभएको छ ।  तर, यहाँ नहुने रहेछ । सिरियस बिरामी भएकाले टाढा लैजान सम्भव छैन’, बिरामीको बुहारी सुभद्रा सापकोटाले भनिन्, ‘सयममै उपचार नगरे अपांग हुने जोखिम हुन्छ रे ! बिरामीलाई कसरी अन्य अस्पतालमा सिटीस्क्यान गर्न लैजाने अलपत्र परेकी छु ।’

मुटु, टाउकोको समस्या, श्वासप्रश्वास, नसा, हाडजोर्नी सम्बन्धी जटिल समस्या लिएर अस्पताल आउने बिरामीको तत्काल सिटीस्क्यान गर्नुपर्ने हुनसक्छ ।

वीरमा यो समस्या देखिएको पहिलो पटक भने होइन । यसअघि पनि फिल्म नभएर पटक–पटक सेवा अवरुद्ध भइसकेको छ । वीरमा सिटीस्क्यान गर्न २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ ।  तर, निजीमा भने दोब्बर शुल्क तिर्नुपर्छ ।

एक्स–रे फिल्मको अभाव हुनुमा मुख्य गरी अस्पताल प्रशासन नै दोषी छ । तर, सिटीस्क्यान जस्तो अत्यावश्यक सामानको पर्याप्त ‘स्टक’ नराखेको कारणले पनि यस्तो अवस्था आएको हो । वीरका निर्देशक डा. सन्तोष पौडेल भाजुरत्न मेडिसेल्स कम्पनीले एक्स–रे फिल्म उपलब्ध नगराउँदा सिटीस्क्यान सेवा प्रभावित भएको बताउँछन् । अहिले अस्पतालले एक्स–रे फिल्म नहुँदा रिपोर्ट भने पेन ड्राइभमा दिएर पठाउने गरिएको छ ।

‘हामीले सस्तोमा टेन्डर गर्दा भाजुरत्न मेडिसेल्स कम्पनीले नै पायो । त्यसको सामान दिन सक्ने राम्रो क्षमता रहेनछ’ डा. पौडेलले भने, ‘हामीलाई चाहिने पर्याप्त सामान दिन सक्दैन ।’

सम्झौता अनुसार नियमित सामान उपलब्ध नगरेका कारण  भाजुरत्न मेडिसेल्स कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको डा. पौडेलले बताए ।

पौडेलका अनुसार अर्थ मन्त्रालयको बजेट कटौती र सस्तोमा टेन्डर गर्दा यस्तो समस्या निम्तिएको हो ।

‘अहिले टेन्डर गरेर सस्तोमा ल्याउन खोज्दा समस्या निम्तिएको हो । पहिला हुँदा आएको टेन्डरभन्दा सस्तो भएकाले मख्ख परियो । तर, उक्त कम्पनीको क्षमता नै नभएकाले सामान उपलब्ध नहुँदा सेवा प्रभावित बन्यो’, डा. पौडेलले भने ।

‘अर्थले बजेट कटौती गर्दा पनि अस्पतालको सम्पूर्ण सेवामा असर परेको छ । सप्लायर्सलाई अघिल्लो वर्षको नै रकम दिन सकिएको छैन’ डा. पौडेल भन्छन्, ‘अस्पतालको आम्दानी पनि नभएकाले आफैं व्यवस्थापन गर्न एकदमै कठिन भइरहेको छ ।’

डा. पौडेलले अन्य कम्पनीबाट तत्काल एक्स–रे फिल्म ल्याएर भए पनि सेवा अवरुद्ध नगर्ने बताए ।

Facebook Comments Box

Share Icon