Share Icon

८ वैशाख,काठमाडौँ । ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियङ्का राईले दोस्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१९ एकल विधाको छात्रमा सुजन तथा छात्रामा वियङ्काले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेस्रो भए । छात्रामा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेस्रो बने ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको यु–१५ छात्र एक विधामा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेस्रो भए ।

सोही स्पर्धाको छात्रातर्फ स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई काठमाडौँ महानगरपालिककी उपमेयर सुनिता डङ्गोल, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए ।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

Facebook Comments Box

Share Icon