तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

Share Icon

९ कात्तिक,दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिइएको हो ।

एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो हाइड्रोपावर लिमिटेडले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया सुरुआत गरेको छ ।

कम्पनीले निर्माण गर्न लागेको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन गत असोज २ गते विद्युत् विकास विभागमा बुझाएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ । प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ । उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो ।

परामर्शदाताले पेस गरेको विस्तृत नमूना प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते नमूना पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको नमूना अनुुसार थप केही काम गर्ने तयारी गरिएको छ ।

“विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ,” आयोजना प्रमुख भण्डारीले भन्नुभयो ।

आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजपत्र तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभिसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।

आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर –६, व्यास–१३, १४, देवघाट –२, ३ र ४, ऋषिङ –१ र ३, आँबुखैरेनी –५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । देवघाट –४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ ।

उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभि दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको अनुमानित लागि रु २५ अर्ब रहेको जनाइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.