बाख्रालाई आधुनिक खोर

Share Icon

९ कात्तिक,बलेवा (बागलुङ)। जैमनी नगरपालिका–१० राङखानीकी अस्मिता रानाले ३० बाख्रा पाल्नुभएको छ । सफा र आधुनिक खोर हुँदा बाख्रा स्वस्थ्य र मोटा छन् । अग्लो खोर भएकोले मल निकाल्न पनि सजिलो छ । छ फिट अग्लो गोठमाथि काठले बारेको आधुनिक खोर बनाएर पाल्दा उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।

खोरभित्र मल जम्मा नहुने, हावा खेल्ने र पाठापाठी, माउ र बोकाको छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्थापन गर्दा उहाँका बाख्रा मोटा र खाइलाग्दा पनि देखिएका हुन् ।

चार वर्षअघिसम्म उहाँले पाँच÷सात मात्रै बाख्रा पाल्नुहुन्थ्यो । अहिले आधुनिक खोरमा सङ्ख्या पनि बढाउनुभयो । लगानी बढाउँदा उहाँको आम्दानी पनि बढेको छ । राङखानीकै यामबहादुर थापाको खोरमा अहिले ५० बाख्रा छन् ।

उहाँले पनि अग्लो, हावा खेल्ने र पाठापाठी, बोका र माउ बाख्राको छुट्टै कोठा बनाएर पाल्नुभएको छ । बाख्रापालनलाई व्यावसायिक बनाउन राङखानीमा घरघरै आधुनिक खोर बनाउन थालिएको छ ।

चार वर्षदेखि राङखानीमा मात्रै ३० बढी किसानले आधुनिक खोर बनाएर बाख्रा पाल्न थालेका छन् । गत आर्थिक वर्ष मात्रै जिल्लाभरमा एक सय ७५ वटा आधुनिक खोर बनेर किसानले बाख्रा पाल्न थालेको तथ्याङ्क छ । यसरी पाल्दा उत्पादन बढेको छ ।

बाख्रामा रोगको समस्या पनि नभएको थापाले बताउनुभयो । ‘‘हामीले नजानेर साँघुरो खोरमा सबैलाई राखेर पाल्थ्यौँ, त्यसरी पाल्दा उत्पादन लिनै सकिएन’ किसान थापाले भन्नुभयो, “अहिले उत्पादन पनि बढेको छ, बाख्रा पनि स्वस्थ्य छन् ।” यसरी पाल्दा ५० प्रतिशत बढी फाइदा कमाउन सकिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बागलुङ कार्यालयले किसानलाई तालिम र अनुदान दिएर व्यवस्थापन सिकाएपछि बागलुङमा मात्रै एक सय ७५ बढी आधुनिक खोर बनिसकेको कार्यालयका प्रमुख सुजित पौडेलले बताउनुभयो ।

परियोजनाले प्रतिखोरमा रु दुई लाखसम्मको अनुदान र प्राविधिक ज्ञान दिएको हो । किसानको उत्पादनले खसीबोकामा जिल्ला आत्मनिर्भर बन्ने तयारीमा पुगेको उहाँले बताउनुभयो ।

बाख्रा जोन कार्यक्रममार्फत बागलुङ र जैमिनी नगरपालिका र बरेङ गाउँपालिका छनोट भई ती स्थानका किसानलाई व्यावसायिक बनाउँदा मासुमा आत्मनिर्भर बन्ने अबस्था आएको उहाँले बताउनुभयो ।

परियोजनामार्फत बागलुङमा अघिल्लो आर्थिक वर्ष रु एक करोड १२ लाख र गतवर्ष एक करोड १८ रुपैयाँ किसानको आधुनिक खोर निर्माणमा लगानी भएको हो । कृषि सहकारी र व्यक्तिगत रुपमासमेत दर्ता गरेर फर्म चलाएका पाँचवटा भन्दाबढी बाख्रा पालेका किसानलाई खोर निर्माणमा अनुदान दिइएको हो ।

अनुदान दिएका खोरबाट गत आर्थिक वर्ष बागलुङमा दुईसय १३ दशमलब १३ मेट्रिकटन मासु उत्पादन भएको परियोजनाको तथ्याङ्क छ ।

छिटफुट रुपमा बोयर र बिटल जातका बाख्रा पालिए पनि अधिकांस किसानले स्थानीय खरी र जमुनापारी जातका पालेका छन् । पशु आहारा व्यवस्थापन, पशु स्वास्थ्य र बजारीकरणमा पनि परियोजनाले लगानी गरेको हो ।

भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उत्पादनले जिल्लामा पुग्ने अबस्था आएको बताउनुभयो ।

एक वर्षदेखि खसीबोका आयात नभएको र बरु धेरै किसानले बेचेर कमाइ गरिरहेका छन्’ उहाँले भन्नुभयो, “यकिन तथ्याङ्क आइनसके पनि अब बागलुङ आत्मनिर्भर भएर बेच्ने अवस्थामा पुगिसकेको छ ।” गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाका किसानले बाहिरी जिल्लामा पनि बाख्रा बेच्न थालेका हुन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.