Share Icon

२५ चैत,काठमाडौँ । निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबँेसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन ।

लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यो सडक खण्डमा २५ प्रतिशत प्रगति मात्रै रहेको योजनाका प्रमुख धु्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले काम नगरेर निर्माण सुस्त भएको हो ।”

सरकारी वन क्षेत्रमा पर्ने भएकाले यो सडकखण्डमा जग्गा मुआब्जाको समस्या कम रहेको योजनाले जनाएको छ । निर्माण व्यवसायी लामो समय सम्पर्कविहीन रहेकामा अहिले सम्पर्कमा ल्याएर काम गराउन लागिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैंकबाट ताकेता गरेर सम्पर्कमा ल्याइएको छ, व्यवसायीले हामीलाई नयाँ व्यवस्थापनसहित काम गर्छु भनेको छ ।” सो ठेक्काको अवधि गत माघ २४ मा सकिएको थियो । अवधि थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उहाँले बताउनुभयो ।

कामको प्रगति हेरेर निर्माणको काम अघि बढाए मात्रै थप हुने उहाँको भनाइ छ । उहाँका अनुसार काम चितबुझ्दो भएन, कामको गति बढाएन र जनशक्ति बढाएन भने थप नहुन पनि सक्छ ।

एक महिनादेखि अहिले जनशक्ति र उपकरण थप्न थालेको उहाँले जानकारी दिनुभयो । अहिले तीन मेसिन र एक सय जना जनशक्ति रहेकामा योजनाले निर्माण कम्पनीललाई थप गर्न भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गति बढाउँदा अवधि थप्ने नभए जरिवाना लगाउनुपर्ने हुन्छ ।”

सडकको तल्लोपट्टि खोला रहेकामा त्यसमा पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकिएपछि नाली बनाएर ग्राभेल गरेर कालोपत्र गरिने उहाँले बताउनुभयो । यो सडक सरकारको बजेटबाट निर्माण भइरहेको छ ।

भारतीय कम्पनी भारत कन्स्ट्रक्सन र नेपाली कम्पनी सिद्धि शाही कन्स्ट्रक्सनलाई निर्माणको जिम्मेवारी दिइएको छ । मैलुङदेखि स्याफ्रुबँेसीसम्मको सडकको लम्बाई १९ किमी रहेको छ ।

Facebook Comments Box

Share Icon