राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीय भाउजूबाट दशैंकाे टीका जमरा र आशिर्वाद ग्रहण
७ कार्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीय भाउजू विष्णु माया पौडेलबाट मंगलबार बडादशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएकाे छ।
साथै उहाँले गुरु पुरोहितबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभएकाे हाे। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएकाे हाे। आफूले टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिनुभएकाे हाे। विजया दशमीको अवसरमा मंगलबार राष्ट्रपति पौडेलले अतिविशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम समेत रहेकाे छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।
अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ । रासस