Share Icon

५ कार्तिक,काठमाडौं।  गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गर्नुभएको छ ।

काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्। अध्यक्ष पदका उमेदवारद्वय महेश कुमार श्रेष्ठ र आरके शर्माले भने केसीको पद बहालीलाई अवैध भनेका छन् । आफैंलाई अध्यक्ष घोषणा गरी शपथ लिने काम अवैध भएको उनीहरुको दावी छ ।

ललितपुरमा गत शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले तीन जना अध्यक्षहरुबीच भएको सहमति केसीले उल्लंघन गरेको आरोप पनि लगाउनुभयो । निर्वाचनमा भएका अनियमतिताको छानविन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानविन समिति गठन गर्न गत शुक्रबार भएको सहमतिको मसी सुक्न नपाउँदै केसीले शनिबार हतार- हतार शपथ लिएको उहाँले बताउनुभयो ।

केसीले एकपक्षीय रुपमा शपथ लिएपछि निवर्तमान अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन् । उनीहरुले निर्वाचनसम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधानविपरीत भएकाले त्यो मान्य नहुने बताएका छन् ।

विवाद बढ्दै गएपछि एनआरएनए राजनीतिक आस्थाको आधारमा तीन टुक्रा हुने सम्भावना बढ्दै गएको छ ।

Facebook Comments Box

Share Icon