राष्ट्रपति पाैडेलले आममाफी दिएका व्यक्ति हत्या आरोपमा पक्राउ
२ कार्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन कैद मिनाहा गरेर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर बिक अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।
पश्चिम रुकुमको सानीभेरी गाउँपालिका-९ का लोक बहादुर कारागार मुक्त भएको तीन साता नबित्दै प्रेमिकाको हत्या आरोपमा पक्राउ परेका हुन् । मुसीकोट–७ की २७ वर्षीया भावना बिकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन् ।
गत मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एक होटलमा भावना मृत अवस्थामा फेला परेकी थिइन् । होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडेको अवस्थामा भावनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोक बहादुरबाट हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध रहेको देखिएको र भावनाले बिहे गर्न दवाव दिएपछि लोकबहादुरले हत्या गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । बहुविवाहको मुद्दामा जेल परेका लोकबहादुर ६ महिना पनि जेल नबस्दै राष्ट्रपतिबाट माफी पाएर कारागार मुक्त भएका थिए ।