कोशीका मुख्यमन्त्री कार्कीको कदम गलत हो, विश्वासको मत भने दिन्छौंः राजेन्द्र राई

१ कार्तिक,काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राईले नेकपा एमालेसँग गठबन्धन गरेर नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताउनुभएकाे छ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै उहाँले यस्ताे बताउनु्भएकाे हाे । एसका नेता राईले मुख्यमन्त्री कार्कीले दलीय सहमति तोडेको आरोप समेत लगाउनुभएकाे हाे ।
कांग्रेसका ८ सांसदलाई विद्रोह गर्न लगाएर एमालेसँग मिलेको भन्दै नेता राईले मुख्यमन्त्री कार्कीको आलोचना समेत गर्नुभएकाे छ। दलीय व्यवस्थाविरुद्ध र गठबन्धनलाई धोका दिएर बनाएको सरकार भएका कारण सिद्धान्ततः कार्कीलाई विश्वासको मत दिन नमिल्ने राईकाे भनाइ थियाे ।
सरकार गठनमा आधारभूत विमति भए पनि प्रदेशसभालाई विघटन रोकेर मध्यावधि निर्वाचनलाई रोक्ने जनताको चाहना र केन्द्रीय गठबन्धनको निर्णय अनुसार शंकाको सुविधासहित कार्कीलाई विश्वासको मत भने दिने नेता राईले बताउनुभयाे ।