विश्वकप क्रिकेटमा बंगलादेश र न्युजिल्याण्ड आज भिड्ने
२६ असाेज, काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार बंगलादेश र न्युजिल्याण्ड भिड्ने भएका छन् ।
भारतको चेन्नाईमा शुक्रबार दिउँसो सवा दुई बजेबाट खेल सुर हुने भएकाे हाे। जारी विश्वकपमा लगातार दुई खेल जितेको न्युजिल्याण्ड शुक्रबार तेस्रो जितको खोजीमा रहेकाे छ । सुरुवाती दुई मध्ये एक खेलमा जित र एकमा हार व्यहोरेको बंगलादेश भने शुक्रबार दोस्रो जित निकाल्न चाहन्छ ।
विश्वकप क्रिकेटमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले पराजित गरेकाे हाे । लखनउस्थित एकान क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमै समेटियो । जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोडेको छ । दुवै खेलमा पराजित अस्ट्रेलिया अंकविहीन छ ।
एक दिवसिय क्रिकेट विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाको जारी प्रतियोगितामा भने यो लगातार दोसो हार हो । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, भारत र पाकिस्तानले लगातार दुई खेल जितेका छन् ।