सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ नागरिककाे संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिंगापुरमा प्रहरीले गत अगस्ट महिनामा विभिन्न स्थानमा छापा मारी १० जनाभन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट हेर्मेस ह्याण्डब्याग, मेकलेन ह्विस्की, बेन्ट्ली र रोल्स रोयज कारजस्ता बहुमूल्य सामान बरामद भएको छ । बरामद भएका ती सामानको मूल्य २ अर्ब ४० करोड अमेरिकी डलरसम्म रहेको जनाइएको छ ।
अगस्ट महिनामा सम्पत्ति शुद्धीकरणको भण्डाफोर भएसँगै त्यहाँका बैंकहरुले चीनमा जन्मेका सेवाग्राहीलाई सेवा दिन हिचकिचाउन थालेका छन् । ऋणदाता बैंकहरुले चीनमा जन्म लिएका सेवाग्राहरुको नयाँ एवम् यसअघि अस्तित्वमा रहेका बैंक खाताको पुनरावलोकन गर्नसमेत सुरु गरेका छन् ।
त्यसबाहेक सिंगापुरको एक अन्तर्राष्ट्रिय बैंकले कम्बोडिया, साइप्रस, टर्की र भानुआतुजस्ता देशका राहदानी भएका केही सेवाग्राहरुको खाता बन्द गरेको जनाएको छ । गत अगस्ट १५ मा सिंगापुरका विभिन्न स्थानमा गरिएको कारवाहीका क्रममा चिनियाँ मूलका १० जना धनाढ्य पक्राउ परेका थिए । तीमध्ये सबै जना पूर्वी चीनको फुजियान प्रान्तका रहेको र उनीहरुले विभिन्न मुलुकको राहदानी प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
संगठित अपराध गिरोहसँग उनीहरुको साँठगाँठ रहेको हुनसक्ने प्रहरीको आशंका छ । अभियोजनकर्ताहरुले यसलाई ‘सिंगापुरकै सबैभन्दा खराब र गम्भीर सम्पत्ति शुद्धीकरण प्रकरण’ को संज्ञा दिएका छन् ।
उनीहरुको साथबाट १ अर्ब ८० करोड सिंगापुर डलर बराबरका नगद, विलासी सामान, गहना र सम्पत्ति फेला परेको छ । उनीहरुको साथबाट सिंगापुरमा सबैभन्दा धनाढ्यहरुको बसोबास रहेको क्षेत्रमा घरजग्गा, २७० थान गहना, ५० सवारी साधन, घडीजस्ता बहुमूल्य सामान फेला परेको छ । सिंगापुर प्रहरी बलका अनुसार उनीहरुले यो सम्पत्ति विदेशी भूमिमा गरिएको अपराध, अनलाइन जुवा एवम् ठगीजस्ता गैरकानूनी गतिविधिबाट कमाइ गरेका थिए ।
यसबाट पारदर्शी वित्तीय गन्तव्यको छवि बनाएको सिंगापुरको प्रतिष्ठामा आँच आउनुका साथै चिनियाँ नागरिकहरुको संलग्नताका कारण चीनको छविमा पनि धक्का लागेको विश्लेषण गरिएको छ ।
Related posts:

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

चीनकाे एक विद्यालयकाे छात्रावासमा आगलागीः १३ जनाको मृत्यु
राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

