Share Icon

काठमाडाैं । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रिगल ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले के कारणले कैद माफी मिनाहा गरेको हो भन्ने विषयमा बिहीबार सरकारलाई कारण देखाऊ आदेश जारी गरेको हो। नेपालगन्जमा ढकालको समूहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले माफी मिनाहा बदर माग गर्दै रिट दर्ता गरेकी थिइन्। सोही रिटमा सुनुवाइपछि इजलासले ढकाललाई आमा माफी दिनुको कारण सरकारसँग सोधेको हो।

भारतीले कैद माफी मिनाहाविरुद्ध असोज १४ गते रिट दर्ता गरेकी थिइन्। उनले सरकारको निर्णयविरुद्ध रिले अनशनसमेत सुरु गरेकी छिन्। बाँके जिल्ला अदालतले तोेकेको सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ढकाललाई गणतन्त्र दिवसको अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा गरेका थिए।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदनमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्वलाई ध्यानमा राखेर यसलाई पूर्ण इजलासमा पेस गर्न पनि आदेश दिएको छ।सर्वोच्चले रिट निवेदनमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा यसलाई एकल (एक न्यायाधीश) वा संयुक्त (दुईजना न्यायाधीश) इजलासले टुंगो लगाउन नसक्ने भन्दै पूर्ण (तीन वा तीन भन्दा बढी न्यायाधीश) इजलासमा पेस गर्न आदेश दिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon