Share Icon

१६ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्धिकाे आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरि लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-७ का वडा अध्यक्ष रूद्रमणि नेवारले सडक बाह्रै महिना संचालन भइरहेकाे बताउनुभएकाे छ । १६ घर धुरीमा खानेपानी पुर्याउने काम बाँकी रहेकाे र दशैं-तिहारपछि पूरा गर्ने  उहाँले बताउनुभएकाे हाे । साेही वडामा इन्टरनेटकाे सेवा पनि सबै स्थानमा उपलब्ध गराइएकाे उहाँले बताउनुभयाे ।

कृषि क्षेत्रमा लगानी अनुसारकाे प्रतिफल खासै उपलब्धी हुन नसकेकाे उहाँले स्वीकार गर्नुभएकाे छ। यस वडामा भएका मठ-मन्दिर र गुम्बाई संरक्षण र व्यवस्थापन गरेर पर्यटकीय क्षेत्र बनाउने याेजना रहेकाे उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

त्यस्तै, फरक प्रसंगमा उहाँले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर विगतका वर्षमा काेराेना महामारीका खस्किएकाे बताउँदै अब विस्तारै सुधार हुँदैआएकाे पनि बताउनुभएकाे छ। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ७ लाई केन्द्र, प्रदेश र गाउँपालिकाले गरी जम्मा १ कराेड ५० लाख विकास निर्माणकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे ।

आफ्नाे वडाकाे कामप्रति सेवाग्राहीहरू सन्तुष्टि रहेकाे पनि उहाँकाे दावी छ । आर्थिक र सामाजिक विकास भएमा मात्र विकास  निर्माणले गति लिने उहाँकाे तर्क छ । वैदेशिक राेजगारीमा जानबाट युवा वर्गलाई राेक्नका लागि पनि पहल भइरहेकाे अध्यक्ष नेवारले बताउनुभयाे ।

अन्त्यमा पहिलाे कार्यकाल सन्ताेषजनक रूपमा नै सम्पन्न गरेकाे बताउँदै दाेस्राे कार्यकाल पनि निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्ने उहाँकाे दावी छ ।

Facebook Comments Box

Share Icon