सुनसरीमा गाजासहित ६ जना पक्राउ
१३ असाेज, काठमाडौं । सुनसरीको बराहक्षेत्रबाट गाजासहित ६ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १ सय २० किलोग्राम गाजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट १ सय २० किलोग्राम गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले गाजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाजा फेला परेको थियो ।
गाजा भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका अररिया बथनाहाका सवारी चालक महमद सिराज, अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार साह रहेका छन् । यस्तै, ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश साह पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुबाट लागूऔषध गाजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५ सय ६० र भारतीय १ हजार ७ सय ४० रुपैयाँ, ६ थान मोबाइल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।