२ खर्ब ६४ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी
काठमाडौं । नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष रुपमा लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मलाई आधार बनाएर गरेको अध्ययनमा सबै भन्दा बढी लगानी भारतबाट भित्रिएको देखाएको हाे । नेपाल राष्ट्र बैंकका अनुसार चुक्ता पुँजी स्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । अध्ययन प्रतिवेदनले नेपालमा ६ सय ९४ ओटा कम्पनी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालनमा रहेको देखाएको छ ।
५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतको सबै भन्दा बढी २०७९ सम्ममा भारतबाट सबै भन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी आएको हो । यसैगरी चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अनपेक्षित रुपमा आयरल्यान्डबाट नेपालमा २० अर्ब ९० करोड वैदेशिक लगानी भित्रिएको छ ।
त्यस्तै सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ र सेन्ट किट्स एण्ड नेभिसबाट रु१५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार समग्र वैदेशिक लगानीमध्ये ६२ प्रतिशत औद्योगिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।