सरकार आफैं सुन तस्कर होः अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैंले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।
स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे।चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको भनाइ थियो।
उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए। ओलीले भने, ‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ। सब भन्दा माथि देशलाई राख्न सक्नुपर्दछ। आफ्नो स्वार्थलाई शिरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन।
देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन। देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि। यस्ता काण्डहरु चलाउनु हुँदैन। म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु। यस्ता काण्डहरु चलाउनु हुँदैन।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।







