राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छः राष्ट्रपति पौडेल
५ असाेज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र र वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो ।
अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँंको धारणा थियो । नेपालको संविधान अनुसार गठन भएका सवै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको राष्ट्रपति पौडेलले धारणा राख्नुभयो ।
सोही अवसरमा दलित अयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताउनुभयो । उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि समेत बताउनुभयाे।







