गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम
१९ भदौ,गण्डकी । गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।
विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताउनुभयो ।
“छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवर्द्धनमा समेत मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन् ।”
थप विद्यालयमा कार्यक्रम विस्तारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको सचिव डा शर्माले बताउनुभयो । “सरकारको नीति, बजेट तथा कार्यक्रमले पनि यसलाई समेटेको छ, एकैसाथ धेरै विद्यालयमा लागू गर्न स्रोतले भ्याउने अवस्था नभए पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा हाम्रो जोड छ”, उहाँले भन्नुभयो ।
विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालय छनोट गरेर कार्यक्रम सञ्चालन गर्ने गरिएको मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले बताउनुभयो । उहाँका अनुसार मुस्ताङको जनआदर्श, मनाङको प्रकाश ज्योति, म्याग्दीको जनप्रिय, पर्वतको पशुपति, बागलुङको नेपाल मावि र जनजागृति माविमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा छ ।
यस्तै स्याङ्जाको पूर्णामृत भवानी, त्रि–सहिद नमूना, कास्कीको सहिद स्मृति आवासीय, भारती भवन, तनहुँको रामशाह, श्रीङ्ग, लमजुङको बागेश्वरी, इशानेश्वर, गोरखाको जीवनज्योति, चतुरमाला, नवलपुरको भानुदय नमूना र भीमसेन आदर्श माविमा सो कार्यक्रम सञ्चालित छ ।
मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतका एक–एक विद्यालय र अन्य जिल्लाका दुई–दुईवटा विद्यालयमा कार्यक्रम लागू गरिएको अधिकृत बरालले उल्लेख गर्नुभयो । “गत वर्ष माघदेखि कार्यक्रम सञ्चालनमा आएको हो, यो वर्ष पनि प्रदेशका ११ वटै जिल्लामा कार्यक्रमले निरन्तरता पाएको छ”, उहाँले भन्नुभयो ।
‘विद्यालय नर्स’ कार्यक्रमका लागि मन्त्रालयले गत आवमा रु ५० लाख बजेट विनियोजन गरेकामा यो वर्ष रु एक करोड बजेट छुट्याएको छ । बागलुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माविका प्रधानाध्यापक उमानाथ अधिकारीले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
“विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, उहाँले