क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

Share Icon

१३ भदौ,चितवन । चितवन स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । जसमध्ये तीन सय ५० हाराहारी जनरल शय्या रहेका छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ । अस्पतालको तर्फबाट एक महिलासहित दुई जना चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिनुभयो ।

लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्ति पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु”, अस्पताललाई सुधार्ने प्रतिबद्धता उहाँको छ ।

पौडेलले अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्था गर्ने बताउनुभयो । अस्पताल आएका बिरामीलाई विवेक प्रयोग गर्न चिकित्सक कर्मचारीलाई उहाँले आग्रह गर्नुभएको छ । मङ्गलबार पदभार गर्दै अस्पतालका चिकित्सक कर्मचारीलाई उहाँले भन्नुभयो, “अरु केही गर्नै पर्दैन, विवेक प्रयोग गर्नुहोस् । तपाईँसँग ज्ञान, सीप र बुद्धि छ । बिरामीले तपाईँलाई भगवान् भनेर जानेछन् । भगवानको रुप तपाईँहरू बन्नुपर्छ ।”

उहाँले भन्नुभयो “क्यान्सर रोगको डाइग्नोसिसदेखि उपचारसम्मका सबै प्रक्रिया यथाशीघ्र छिटोछरितो उपलब्ध गराउने काममा लागिपर्ने छु । यसको अनुभूति बिरामीले केही महिनामा पाउनु हुनेछ ।”

व्यवस्थित नागरिक वडापत्र, सुझाव पेटिका र सूचना केन्द्र स्थापना गर्ने सङ्कल्प गर्दै उहाँले अस्पताल सेवालाई चुस्त दुरुस्त बनाई स्तरोन्नति गर्नेसमेत सङ्कल्प गर्नुभयो । कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो, “ओपिडीलाई व्यवस्थित गर्ने, भएका सबै सेवालाई चलाउने, थप नयाँ सेवा प्रदान गर्ने मेरो योजना छ ।”

क्यान्सर रोगको नियन्त्रणका क्षेत्रमा योजनाबद्ध कार्यक्रम तयार गरी सातवटै प्रदेशमा क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले क्यान्सर रजिष्ट्रेशनका कार्यक्रमलाई अझै वैज्ञानिक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरको अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.