Share Icon

२५ असार,दोधारा चाँदनी । गुगुल्डी वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा चार श्रष्टा सम्मानित भएका छन् ।

गुगुल्डी वाङ्मय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा साहित्यकार कृष्ण पेलालाई गुगुल्डी न्वाकी मानपान, डा नारायणी भट्टलाई ग्वाल्लेक गौरव लछुमणि चन्द स्मृति मानपान, गायक लछिधन अधिकारीलाई माल महिम राम रतन सम्मान र कवि प्रेम प्रकाश कलौनीलाई मनोहर वसन्ती गजाधर स्मृति मानपानबाट सम्मानित गरिएको प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिनुभयो ।

“हरेक वर्ष वार्षिकोत्सवका अवसरमा हामीले यहाँको भाषा, साहित्यको श्रीवृद्धिमा योगदान पु¥याउनुहुने श्रष्टालाई सम्मानित गर्ने गरेका छौँ ।” उहाँले भन्नुभयो–“डोटेली भाषा संस्कृति संरक्षण लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।”

कार्यक्रममा वरिष्ठ साहित्यकार पञ्चमराज भट्टले डोटेली भाषाको इतिहास र लोकसाहित्यको विकासमा लाग्नुपर्ने बताउनुभयो । “हाम्रो भाषा संस्कृति ओझेलमा परेको छ, यसप्रति सबै सचेत हुनुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो–“यहाँको ऐतिहासिक र सांस्कृतिक पर्वबारे पछिल्लो पुस्तालाई जानकारी गराउनु आवश्यक छ ।”

कार्यक्रममा कविराज भट्टद्वारा लिखित ‘चैला गैग्या कुरा रैग्या’ नामक डोटेली किस्सा सङ्ग्रहको विमोचन गरिएको थियो । उक्त कृतिका प्रकाशक साहित्यकार कविराज भट्टले सुदूरपश्चिमको बोलिचालीको भाषामा रहेका उखान टुक्का सङ्कलन गरेको बताउनुभयो ।

“हाम्रो पूर्खाले प्रयोग गर्ने उखान टुक्का पछिल्लो पुस्ताले थाहा पाउन भनेर कृति प्रकाशनमा ल्याइएको हो ।” उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी साहित्यकारले आ–आफ्ना रचना वाचन गरेका थिए ।

Facebook Comments Box

Share Icon