‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रमले आयस्तर वृद्धि
– मिला दरै
२० असार,डुम्रे । गरिब तथा पछाडि परेको समुदायको आयस्तर वृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा ‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिएको छ । तनहुँका दुई विपन्न गाउँमा गरिएको कार्यक्रमले आयस्तर वृद्धिमा सहयोग पु¥याउँदै आएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र तनहुँमार्फत कार्यक्रम भइरहेको छ । एकीकृत कृषि कार्यक्रम सञ्चालन गरी किसानले उत्पादन बढाएर आर्थिकस्तर उकास्नमा संलग्न गराई गरिबी निवारणमा टेवा पु¥याउने र खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ को भुजेल बस्तीका ४० घर भुजेल परिवार र ऋषिङ गाउँपालिका–४ भिरकोटका एक सय घरधुरीलाई कार्यक्रममा सहभागी गराइएको छ । भिरकोटमा कार्यक्रम सञ्चालनका लागि सोही ठाउँको विश्वकर्मा कृषि तथा पशुपक्षी कृषक महिला समूहसँग सम्झौता गरिएको छ ।
कार्यक्रमअन्तर्गत यहाँका पक्की प्लास्टिक घर निर्माण एक, मौरीघार १५, बाख्राको खोर निर्माण सात, ब्याड बोका खरिद दुई, बङ्गुरको खोर निर्माण चार, बङ्गुरका पाठा खरिद, कुखुराको खोर निर्माण तथा चल्ला खरिद, तरकारी र मकैको बीउ वितरण गरिएको छ ।
यसैगरी कृषि औजार उपकरण खरिद, तरकारी फलफूल नर्सरी निर्माण र सिँचाइ व्यवस्थापनका लागि आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हाते ट्र्याक्टर लगायतका सामग्री प्रदान गरिएको छ । प्रमुख तिवारीका अनुसार भुजेल गाउँमा आठवटा बाख्राका खोर, आठवटा बोका तथा ३५ मौरीका घार समूहमार्फत खरिद गरी वितरण गरिसकिएको छ ।
कार्यक्रमका लागि आफ्नो गाउँ छनोट भएपछि विपन्न परिवारमा खुसी छाएको ऋपिङ–४ भिरकोटस्थित विश्वकर्मा कृषि तथा पशुपक्षी कृषक महिला समूहकी सहसचिव मीना घिमिरेले बताउनुभयो । सो गाउँमा एक सय ५० घरधुरीमध्ये एक सय जनालाई समेटिएको घिमिरेले जानकारी दिनुभयो । यस गाउँमा घर सङ्ख्या धेरै भएकाले रु २० लाख बजेट पर्याप्त नभएको उहाँले बताउनुभयो ।
“बजेट थोरै तर घर धेरै हुँदा बाख्रा तथा बङ्गुरका पाठापाठी, मौरीघार आवश्यक भए पनि पु¥याउन सकिएन, आगामी आर्थिक वर्षमा समेटिनेछ भन्ने आशामा छौँ”, घिमिरेले भन्नुभयो, “सबै आवश्यकता एकसाथ पूरा हुने त होइन तर प्रयासमा छौँ ।” विपन्न वर्गका घरधुरी धेरै भए पनि केहीलाई मात्र समावेश गरिँदा यस क्षेत्रका विपन्न वर्गले आफ्नो पहुँच नभएको भनेर गुनासो गर्ने गरेका छन् ।
सिँचाइ व्यवस्थापनका लागि १८ ड्रम, हाते ट्र्याक्टर र कुटानी–पिसानी लगायतका सामग्री प्रदान गरिएको केन्द्रले जनाएको छ । बाख्रा र बङ्गुरपालनका लागि खोर निर्माण गरेपछि एक÷एक उन्नत जातका बाख्रा र बङ्गुरका पाठापाठी वितरण गरिएको केन्द्र प्रमुख तिवारीले बताउनुभयो ।
उक्त कार्यक्रमका लागि प्रदेश सरकारबाट रु २०÷२० लाख बजेट गरी दुई गाउँमा रु ४० लाख बजेट निकासा भएको केन्द्र प्रमुख तिवारीले जानकारी दिनुभयो । प्रदेश सरकारको ९० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कार्यक्रम सुरु गरिएको हो । छनोट समितिले सामाजिक, शैक्षिक, आर्थिक अवसरका दृष्टिले तुलनात्मक रूपमा पछाडि परेको समुदायलाई छनोट गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
केन्द्रका अनुसार छनोट गरिएको बस्तीमा कृषि पशुपछी तथा अन्य आयमूलक उद्यम र व्यवसायको पहिचान गरी सोही अनुसार काम अघि बढाइएको छ । ती बस्तीमा सडक, सिँचाइ, खानेपानी, आवास लगायतका पूर्वाधार विकासका आवश्यकता पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।
कृषि वा अन्य परम्परागत पेसामा आश्रित घरपरिवारको बाहुल्यता रहेको वा जीवन निर्वाहका जग्गा जमिन र पेसा व्यवसायसमेत नभएकाको बाहुल्यता रहेको बस्तीलाई प्राथमिकतामा राखेर गाउँको छनोट गरी यस कार्यक्रम सञ्चालन गरिएको छ । बस्ती छनोटका लागि जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा सात सदस्यीय समिति बनेको थियो । सोही समितिले स्थलगत निरीक्षण, अनुगमन गरेर बस्ती छनोट गरिएको केन्द्रले जनाएको छ ।