काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त (सीके) राउतले सरकारले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको बताएका छन् । उनले बजेटमाथि महिनौंसम्म छलफल चले पनि त्यसबाट एक अक्षर फेरबदल नहुने अभ्यासले झन् आफूलाई अफ्ठ्यारो महसुस भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राउतले भने, ‘यो बजेट ल्याएको हो कि बजेट लुटेको हो ? भन्ने कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको हो जस्तो देखिन्छ । बरू बाटोमा लैजाँदाखेरि कसैले देख्ला कि भनेर चानचुन बाँडेको जस्तो लाग्छ ।’
उनले बजेटले अहिले देश छोडेर पलायन भइरहेका युवालाई समेट्ने कुनै कार्यक्रम नसमेटेको बताए । ‘युवाहरू दिनानुदिन विदेश गइरहेका छन् । युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउला भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो त केही पनि भएको छैन । नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन,’ उनले भने ।
उनले सरकारले मधेश प्रदेशलाई राजस्वभन्दा पनि कममात्रै बजेट दिइएको बताए । ‘मधेशले राजस्वमा महत्त्वपूर्ण योगदान गरेको छ । तर बजेटमा भने सरकारले मधेशको योगदानलाई सम्मान गरेको छैन,’ उनले भने, ‘मधेशबाट आएको राजस्वभन्दा कम बजेट मधेशलाई दिइएको छ । यस्तो किन भएको हो ? सरकारले जवाफ दिनुपर्छ ।’ उनले योजना र बजेटको बीचमा तालमेल समेत नमिलेको बताए ।
Related posts:

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्रः नेता निधि

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

