एसिया कप : पाकिस्तानको हाइब्रिड मोडल तीन देशले गरे अस्वीकार
२४ जेठ ,काठमाडौं । श्रीलंका, अफगानिस्तान र बंगलादेशले एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गरेका दाबी गरिएको छ।
यसले पाकिस्तानले आफ्नो देशमा प्रतियोगिता आयोजना गर्ने प्रयासलाई थप कमजोर बनाएको छ।
श्रीलंका क्रिकेट (एसएलसी), बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० र अफगानिस्तान क्रिकेट बोर्ड ९एसीबी० ले चार खेल पाकिस्तानमा आयोजना गर्ने र बाँकी खेल युएईमा गर्ने हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गर्दै पत्र लेखेका छन्।
पाकिस्तानका पूर्व कप्तान रशीद लतिफले भनेका छन्, ‘भारत र ३ देशले एसिया कपका लागि हाइब्रिड मोडल अस्वीकार गरे, एउटै स्थानमा हुने पर्नेमा सहमती जनाएका छन्।’
उनले क्रिक बजसँग कुरा गर्दै भनेका छन्, ‘मलाई स्वतन्त्र स्रोतहरूबाट जानकारी छ कि चार देशले मोडेल अस्वीकार गरेका छन् र यो अब औपचारिकता हो कि एसिया कप पाकिस्तानबाट बाहिर सारिनेछ।’
उनले पाकिस्तानले प्रतियोगिता खेल्ने विश्वास गरे। ‘मलाई लाग्छ पाकिस्तानले खेल्नु पर्छ र खेल्नेछ।’
यसअघि पाकिस्तानले आफ्नो देशमा प्रतियोगिता नभए एसिया कपसँगै भारतमा हुने एकदिवसीय विश्वकप समेत नखेल्ने चेतावनी दिएको थियो।
भारतले पाकिस्तान भ्रमण नगर्ने बताएसँगै पाकिस्तानमा तय भएको एसिया कपको आयोजकको विषयमा विवाद सुरु भएको थियो। जससँगै पाकिस्तानले भारतका खेल युएईमा गर्ने प्रस्ताव गरेको थियो।
पाकिस्तानमा एसिया कप हुन नसके श्रीलंकाले आयोजना गर्ने सम्भावना छ।
आगामी सेप्टेम्बरको दोस्रो साताबाट सुरु हुने ६ टिमको एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपालले भाग लिनेछन्। एक समूहमा नेपाल, भारत र पाकिस्तान तथा अर्को समूहमा श्रीलंका, अफगानिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्ने तय छ।